बिहीबार, चैत १५, २०८०

‘मुलुकको राजनीतिमा जन्डिसको बिरामीले जस्तो जता पनि पहेंलो देख्ने प्रवृत्तिहरु देखापर्‍याे’

नेपालखोज २०७८ वैशाख ३१ गते १८:५३
फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जण्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्तिहरु देखा परेको बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण पछि बसेको मन्त्रीपरिषद्को बैठकलाई सम्बोधन गर्दे उनले विरोधीहरुले सरकारका उचित प्रयासहरुलाई भ्रमपुर्ण ढंगले प्रचार गरी जनतामा अन्यौल सृृजना गर्ने काम भएको बताए ।

उनले कोभिड १९ संक्रमणको भयावह अवस्थामा त्यसविरुद्धको लडाईमा एकजुट हुनुपर्नेमा सरकारका प्रयासहरुलाई ओझेल पार्ने र जनतामा निरासा पैदा गर्ने काम भएको दाबी गरे । उनले जण्डिसको विरामीले जता पनि पहेँलो देखे जस्तै सबै तिर भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने काम भएको आरोप लगाए ।

उनले भने, “कोभिड १९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा विभिन्न प्रकारले अस्वस्थ्य, अनुचित र तनाबग्रत वातावरण बनाउने र जनतामा अन्यौल सृजना गर्ने, निरासा पैदा गर्ने,सरकारका प्रयासहरुलाई ओझेलमा पार्न खोज्ने, प्रयासहरुलाई असफल पार्न खोज्ने, उचित प्रयासहरुलाई भ्रमपुर्ण ढंगले प्रचार गर्ने र जण्डिसको विरामीले जस्तो जता पनि पहेलो देख्ने, जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई पनि काम गर्न हतोत्साहीत गर्ने प्रवृत्तिहरु भईरहेका छन् ।”

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले आफुले सरकार बनाउन नसकेपछि देशमा प्रतिमन भएको देख्ने गरेको टिप्पणी गरे । त्यसकिसिमका आलोचनालाई उनले मुलुकमा अस्थिरता चाहनेहरुको कुतर्कको संज्ञा दिनए ।

आफ्नो स्वार्थका निम्ति यस विकराल अवस्थामा सरकारालई सेक्न खोज्ने प्रवृत्ति उचित नभएको भन्दै उनले देश संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार, संविधान र कानुनका स्पष्ट व्यवस्था र मर्यादा अनुसार कोभिड १९का विरुद्ध संघर्षमा जुटेको स्पष्ट पारे । सरकारको गम्भीरतालाई छिमेकी र मित्रराष्टहरुले हेरिरहेको भन्दै उहाँले यस्तो अवस्थामा पनि देश र जनताप्रति चिन्तित नभएर स्वार्थ केन्द्रीत हुनु उचित नहुने टिप्पणी गरे ।

उनले कोभिड १९ संक्रमतिको उपचारमा सरकारले कुनै कमि हुन नदिने प्रतिवद्धता जनाए । कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारमा सरकारले प्रभावकारी कदम चाल्ने र आवश्यक पर्ने स्वास्थ्य सामाग्रीका साथै अग्रपक्तिमा रहेर उपचार सेवा गर्नेहरुलाई प्रभावकारी ढंगले प्रोत्साहन सुविधा उपलब्ध गराउने आश्वासन दिए । साथै सबै नागरिकलाई यथाशिघ्र कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था सरकारले मिलाउने पनि उनले उल्लेख गरे ।

निषेधाज्ञाको समयमा उद्योग व्यवसाय र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न र त्यसको प्रतिकूल असर नपरोस् भन्ने तर्फ सरकार सजग रहेको पनि उनले बताए । उनले यी सबै कामका लागि आवश्यक सम्पुर्ण स्रोत र साधन परिचालन गर्ने कुरामा कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए । उनले नीजि क्षेत्रका अस्पतालहरुलाई सेवाको भावना राखेर विरामीको उपचारमा लाग्न तथा कोभिड नियन्त्रण तथा रोकथामका सरकारलाई सहयोग गर्न पनि आग्रह गरे ।

उनले कोभिड नियन्त्रणका लागि खरिद गरिएका कुनै पनि सामानमा भ्रष्टाचार वा अनुचित लाभ लिन खोज्ने काम भए उनीहरुमाथि कडाईका साथ कारवाही गर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीले अक्सिजन उत्पादन पुर्ण क्षमतामा गर्न र ढुवानी तथा वितरणलाई व्यवस्थित बनाउन सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिए । उनले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरे । उनले आफुले देश र जनताप्रति बफादार भएर काम गर्ने, सपथका शब्दहरुको कार्यान्वयनका निम्ति सक्रिय प्रयास अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले त्यसका लागि कर्मचारीबाट पनि प्रभावकारीता र संक्रियताका साथ काम हुने विश्वास आफुले लिएको बताए ।

प्रतिक्रिया