शुक्रबार, वैशाख ७, २०८१

वैशाखमा मात्रै डेढ लाख सङ्क्रमित थपिए

नेपालखोज २०७८ वैशाख ३१ गते २०:२३

काठमाडौं । बैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । बैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।

बैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

बैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । बैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

बैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त सङ्ख्या बैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । बैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३३४ सङ्क्रमितको आइसियुमा तथा ३७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आइसियुमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १८५ सङ्क्रमितको आइसियुमा तथा १०५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । बैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

बैशाखमा एक हजार ६०८ जनाले ज्यान गुमाए
बैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । बैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो । बैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया