परराष्ट्र मन्त्रालयद्वारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस

नेपालखोज २०७८ जेठ १ गते ९:५२

काठमाडौं । परराष्ट्र मन्त्रालयले ११ मित्रराष्ट्रमा खटाउन राजदूत नियुक्ति सिफारिस गरेको छ। अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनालाई राजदूत नियुक्ति सिफारिस गरेको हो।

प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्। राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेपनि यो पटक परराष्ट्र सेवाबाट जम्मा दुई जनामात्रै सिफारिसमा परेका छन्‌।

राजदूत नियुक्त गरेर सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्ट पठाउन सिफारिस गरिएको हो। श्रीलंकाका लागि साविक विराटनगर नगरपालिकाका पूर्व मेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीति शास्त्रका पूर्व प्राध्यापक रमेशचन्द्र पौडेललाई राजदूत सिफारिस गरिएको छ।

त्रिभुवन विश्वविद्यालय, राजनीति शास्त्र विभाग पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र वामनेता पद्मरत्न तुलाधरकी छोरी सुम्‍निमा तुलाधरलाई अष्ट्रेलियामा प्रस्ताव गरिएको छ। तुलाधर सिविन नेपालकी कार्यकारी संयोजक हुन्।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत एवम्‌ रूसी भाषा अनुवादक जंगबहादुर (जंगब) चौहानलाई रूसका लागि राजदूत सिफारिस गरिएको छ। पूर्वमन्त्री युवराज कार्कीलाई बहराइन, झापा आन्दोलनमा संलग्न नेता नारायणप्रसाद संग्रौलालाई बर्मा, पाल्पाका पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिल र सुमित्रा सुवेदीलाई डेनमार्कका लागि नेपाली राजदूत सिफारिस गरिएको छ।

त्यस्तै, एमालेनिकट मुस्लिम संगठनका पूर्वअध्यक्ष मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेको छ।

प्रतिक्रिया