२० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा । गणेशमान चारनाथ नगरपालिकाले २० शय्या कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो ।
वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबीबीएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले जानकारी दिए ।
उनले आवश्यक परे जनशक्ति थप गर्ने बताए । नगरप्रमुख यादवले भने, “अघिल्लो वर्ष छ वटा क्वारेन्टिन सञ्चालन गरेर कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयास गरेका थियौँ, यस पटक अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा छन्, बिरामीलाई निःशुल्क औषधि र खानपिनको समेत व्यवस्था गरेका छौँ ।”
कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेकाले थप आइसोलेसन र क्वारेन्टिनको व्यवस्थासमेत गर्न लागिएको उनले बताए । नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ ।
दुई दिनमा ७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको स्वास्थ्य इन्चार्ज श्याम रायले जानकारी दिए ।
नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा हाल एकजना सङ्क्रमित छन् । पाँचजना सङ्क्रमित होम आइसोलेशनमा रहेको इन्चार्ज रायले बताउनुभयो ।
रायले होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई औषधोपचारका लागि दिनहुँ चिकित्सक पठाउने गरिएको जानकारी दिए । त्यसैगरी सङ्क्रमितलाई ओसारपसारका लागि एउटा एम्बुलेन्स तयारी अवस्था राखिएको र थप चार एम्बुलेन्सलाई नियमित सम्पर्कमा राखेको रायले बताए ।
प्रतिक्रिया