जसपा सांसद रामबाबु यादव भन्छन्- विधानविपरीत निर्णय गर्ने महन्थ-राजेन्द्र पक्षलाई कारबाही गर्छौं

नेपालखोज २०७८ जेठ १ गते १७:२५

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ-राजेन्द्र पक्षले पार्टीको विधानविपरीत राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधानविपरीत बनाइएको बताए । उनले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले महन्थ-राजेन्द्र पक्षले आफूहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उनले विधानविपरीत गर्नेलाई कारबाही गरिने पनि बताए । उनले भने, ‘विधानभन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुनबित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

जसपाभित्र बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ ।

प्रतिक्रिया