रोगभन्दा भोकको पिरलो

नेपालखोज २०७८ जेठ २ गते ८:१४
Coronavirus on scientific background

म्याग्दी । गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् । जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ कोरोना सङ्क्रमण फैलँदै गएको भए पनि काम नगरी नहुने बाध्यता भएकाले सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरुले बताएका छन् ।

अहिले गाउँमा मकै गोड्ने, धानको बिउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमा नै गर्नुपर्ने भएकोले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताए ।

दुःख नगरी खान नसकिने भएकाले सुरक्षित रहँदै खेतीपातीमा जुटेको कृषकहरुको भनाइ छ । रोगभन्दा भोक टार्न समस्या हुने भएकोले जोखिम भए पनि सकेसम्मको सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइ रहेको छ ।

“रोगभन्दा ठूलो भोक रहेछ, परिवार र छोराछोरीको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ, रोगसँग डराएर मात्र पनि त भएन नि !”, खबराका कृषक चन्द्रबहादुर कार्कीले भने, “गत वर्ष पनि खेती लगाउने बेलामै कोरोनाले दुःख दिएको थियो, यस वर्ष पनि यस्तै भयो, कोरोनासँग डराएर खेती नगर्ने हो भने त भोकभोकै मर्नुपर्ने दिन आउँछ ।”

रासस

प्रतिक्रिया