शुक्रबार, वैशाख ७, २०८१

लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको मृत्यु

नेपालखोज २०७८ जेठ २ गते १३:०५


लुम्बिनी । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक-एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका-९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल-२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका-४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गए राति उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १८३ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

बेलझुण्डीमा दुई सङ्क्रमितको मृत्यु

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार शनिबार एचडियुमा उपचाररत दङ्गीशरण गाउँपालिका-४ निवासी ७० वर्षीय पुरुष र आइसियुमा उपचाररत घोराही उपमहानगरपालिका-१४ निवासी ७४ वर्षीय महिलाको मृत्यु भएको हो ।

दङ्गीशणका पुरुष गत वैशाख २४ गते अस्पताल भर्ना भएका थिए भने घोराहीकी महिला वैशाख २१ गते भर्ना भएकी थिइन् । उनीहरु दुवै जनामा निमोनिया र श्वासप्रश्वासमा समस्या थियो । योसँगै बेलझुण्डी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । सोमा १४ महिला र पुरुष ३० छन् ।

प्रतिक्रिया