प्रधानमन्त्रीले व्यवसायीलाई भने- अक्सिजन आपूर्ति सहज बनाउनूस् (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनको आपूर्ति सहज र पर्याप्त बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई निर्देशन दिएका छन् ।
बालुवाटारस्थित सरकारी निवासमा शनिबार साँझ सर्वपक्षीय भेलामा उनले स्वदेशी उत्पादनले नपुगे आयात गर्न तथा अक्सिजन प्लाण्ट स्थापनालगायतको काम गर्न निर्देशन दिएका हुन् । उनले अक्सिजन आयातमा समस्या भए सरकारले तत्काल सम्बोधन गर्ने, अक्सिजन उद्योगहरुमा चौबीसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउने बताए ।
कोभिड १९ महामारी अझै कति समय रहन्छ भन्ने कसैलाई थाहा नभएकाले अक्सिजन प्लान्ट स्थापना गर्न पनि उनले आग्रह गरे । ओलीले अक्सिजन जहाँ पाउँछ त्यहाँबाट ल्याउने र त्यसकार्यमा समस्या भए सरकारले आवश्यक संयोजनकारी भूमिका निर्वाह गर्ने आश्वासन दिए । उनले अनुदानको कुरा नगरी सक्दो छिटो अक्सिजन उत्पादन गर्ने काममा केन्द्रित हुन आग्रह गरे । अघिल्लो वर्ष कोभिडको पहिलो लहरका समयमा सरकार हौसिएको र संयोजन पनि राम्रो नभएको भन्दै अब भने उपयुक्त संयोजन हुने व्यवस्था सरकारले मिलाउने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, ‘कति दिनभित्र अक्सिजन उत्पादन गर्नसक्छौं भन्ने कुरामा केन्द्रित हुनुहोस् । लगानी गर्न पुगेन भने सरकारले अलिकति हाल्दिनू र त्यसको मूल्य असुलउपर नहुनेजस्तो भयो भने अनुदान दिने हो । पछि उपादेयता भएन भने आउनू । सुरुमै अनुदान दिनुपर्ने भन्नेचाहिँ हुँदैन ।’
उनले उत्पादन वृद्धि, आयात र प्लान्ट स्थापना गर्ने कार्य सँगसँगै अघि बढाएर तत्काल अक्सिजन आपूर्तिलाई प्रभावकारी बनाउने ढंगमा अघि बढ्न उद्योग व्यवसायीलाई आग्रह गरे । ओलीले संकटको समयमा अत्यावश्यक वस्तुहरुमा अनुचित लाभलिने काम नगर्न पनि आग्रह गरे ।
उनले संकटको बेला सार्वजनिक खरिद ऐनमा भएका प्रावधानहरु कार्यान्वन गर्न नसकिने बताए । मानव जीवन जोगाउने सवालमा खरिद ऐनमा भए अनुसार प्रक्रियामा जान नसकिने भएकाले मावनसेवा गर्ने सोचले अभिप्रेरित भई भेन्टिलेटर, अक्सिजन लगायत कोभिड उपचारमा आवश्यक अत्यावश्यक सामाग्रीको अभाव नहुनेगरी व्यवस्थापन गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे ।
भ्रमपूर्ण ढंगले अक्सिजनको माग भयो
प्रधानमन्त्री ओलीले भ्रमपूर्ण ढंगले अक्सिजनको माग बढाउने काम भएको दाबी गरे । उनले भने, ‘यतिबेलाको जल्दोबल्दो समस्या अक्सिजनको देखियो । अक्सिजनको आपूर्ति गर्न नसक्नुको कारण आयात र उत्पादन पर्याप्त नभएको र दोस्रो मनोवैज्ञानिक डरका कारण मान्छेहरुले सिलिन्डर नै लैजाने गरेकाले समस्या देखिएको । भ्रमपूर्ण ढंगको माग पनि भएको छ । मागबमोजिम भन्दा पनि आवश्यकता र प्राथमिकताकाअनुसार दिनुपर्ने देखिन्छ ।’
अक्सिजन भरेर घरमा राख्नुभन्दा महामारीमा जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्न पनि उनले सबैलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले भने, ‘सावधानी नअपनाउने, आउन नदिने प्रतिaद्धता पनि नगर्ने, आफूले लापरबाही गरिराखिएको छ ।’
फाइल तस्बिर ।
प्रतिक्रिया