शनिबार, असार २१, २०८२

कोरोना नियन्त्रणमा विज्ञको सुझाव- चिकित्सकको मोबाइल टिम चाहिन्छ

नेपालखोज २०७८ जेठ २ गते १५:२१

काठमाडौं । कोभिड १९ संक्रमितको उपचारमा अक्सिजन तथा अक्सिजन सिलिन्डरको चरम अभाव भएको भन्दै अक्सिजन तथा अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा नीजि क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका थिए । छलफलमा विभिन्न क्षेत्रका व्यक्तिहरुले दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेको र गम्भिर बिरामीपनि बढेको भन्दै अक्सिजन र अक्सिजन सिलिन्डरको बन्दो बस्तमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिन्डर नहुने र कतै सिलिन्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताए । उनले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिन्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताए ।

अक्सिजनको आवश्यकतापूर्ति गर्नका लागि जी टू जी मार्फत आयात गर्नुपर्नेमा उनले जोड दिए । होम आइसाेलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उनको भनाइ छ । चेम्बरले ३०० थान अक्सिजन सिलिण्डर मगाएको र तिन/चार दिन भित्र सरकारी अस्पताललाई दिइने पनि उनले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताए ।

स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने उनको भनाई छ । अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि बताए ।

डाक्टर पढिरहेका अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने पनि उनले बताए । वरिष्ठ चिकित्सक चक्रराज पाण्डेले विरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताए । अनावश्यक भर्ना भएका विरामीहरुलाई भन्दा अतिआवश्यक अवस्थाका विरामीहरुलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उनको भनाइ छ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५०० भेन्टिलेटर सरकारले ल्याउनुपर्ने बताए ।

ठुलो अक्सिजन प्लान्ट तत्कालै बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाई छ । वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने बताए ।

बढीभन्दा बढीलाई भ्याक्सिन लगाउनुपर्नेमा उहाँको जोड छ । ९२ प्रतिशत कोरोना संक्रमित घरमै बस्ने गरेको भन्दै उहाँले चिकित्सकहरुले होम आइशोलेसनमा बसेकाहरुलाई सल्लाह सुझाव दिन नसकेकाले होम आइसाेलेसनमा बस्नेहरुको लागि टेलिभिजनमार्फत् जानकारीमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । घरमा आइशोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइशोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उनको भनाई छ ।

परिक्षणको दायरा बढाउनुपर्ने, आइसियु र भेन्टीलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाईफ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्ने उनको भनाई छ ।

अक्सिजन सिलिण्डर गायब गरिने गरेको भन्दै उहाँले प्रशासनले सिलिण्डर खोज्नुपर्ने पनि बताउनुभयो । अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर नीजि क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुन सक्ने उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताए । कोभिडको गम्भिर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै त्यसो गर्नु नहुनेमा सचेत गराए ।

मन्त्रालयले कोभिड को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको उहाँको भनाई छ । लिक्विड अक्सिजन तुरुन्त खरिद गर्न सक्ने अवस्था नरहेको पनि उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले शनिबार सबै क्षेत्रका व्यक्तिहरु सँग कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अक्सिजनको आपुर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया