शुक्रबार, चैत १६, २०८०

‘चुनौतीपूर्ण समयमा तीव्र डिजिटल रुपान्तरण’ नारासहित विश्व दूरसञ्चार दिवस मनाइँदै

नेपालखोज २०७८ जेठ २ गते २०:३८

काठमाडौं । विश्व दूरसञ्चार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे १७ का दिन यो दिवस मनाउने गरिन्छ ।

विश्व दूरसञ्चार दिवस (वर्ल्ड टेलिकम्युनिकेसन डे) विशेषगरी डिजिटल ट्रान्फर्मेसनका रुपमा मनाइने गरिन्छ ।

यस वर्ष ‘चुनौतीपूर्ण समयमा तीव्र डिजिटल रुपान्तरण’ मूल नारासहित विश्वभर यो दिवस मनाइन लागिएको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले जनाएको छ । यस वर्ष विश्व दूरसञ्‍चार र सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) भर्चुअल प्यानल छलफलका साथ मनाइन लागिएको छ । डब्ल्यूएसआईएस फोरममा यस वर्षको विश्व शिखर सम्मेलनको हिस्साका रूपमा मनाइने तयारी छ ।

भर्चुअल रुपमा मनाइन थालिएको उच्चस्तरीय प्यानलको उद्देश्य सूचना र सञ्‍चार प्रविधि (आईसीटी) र दूरसञ्चारमा सबै देश र विभिन्न क्षेत्रहरूमा सहयोग बढाउने आवश्यकतालाई प्रकाश पार्नु प्रमुख हो । यसमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का सदस्यहरू र साझेदारहरूलाई डिजिटल रूपान्तरणको गति बढाउन उनीहरूको कार्य र पहलहरू प्रदर्शन गर्न आमन्त्रित गरिएको छ ।

यस वर्षको विषयवस्तु, “चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति बढाउने”, सामाजिक लचिलोपन निर्माणमा टेलिकम्युनिकेसन र आईसीटीको प्रमुख भूमिकालाई जोड दिइएको छ ।

डब्ल्यूटीआईएसडीको २०२१ का कार्यक्रमअनुसार कसरी डिजिटल टेक्नोलोजीले संसारलाई कोभिड-१९ को महामारीपछि राम्रो बनाउन मद्दत पुर्‍याउन सकिन्छ र भविष्यमा आइपर्ने चुनौतीपूर्ण समयहरूमा कसरी जुध्ने त्यसको तयारी गर्नु पनि हो ।

सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्‍चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइन्छ ।

विश्वभर सूचना तथा सञ्चारका क्षेत्रमा भइरहेको प्रगतिबाट नेपाल अलग छैन । नेपाली आकासमा दौडिएको माइक्रोवेबको तरंग अप्टिकल फाइबरसम्म आइपुगेको छ । इन्टरनेटको विकास तीव्र गतिमा छ । यसबाट नेपाल पनि विश्वको सूचना संसारभित्र सहजै अटाउन सफल भएको छ । नेपालका कुनाकाप्चामा इन्टरनेटको पहुँच पुग्दै छ । आधा दर्जन दूरसञ्‍चार सेवा प्रदायकहरुले विभिन्न प्रकारका टेलिफोन सेवा उपलब्ध गराइरहेका छन् ।

प्रतिक्रिया