आज २८औँ मदन-आश्रित स्मृति दिवस, अझै पत्ता लागेन दुर्घटनाको गुत्थी !

नेपालखोज २०७८ जेठ ३ गते ६:००

काठमाडौं । आज जेठ ३ गते अर्थात् २८औँ मदन-आश्रित स्मृति दिवस । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदै छ ।

आजकै दिन मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा निधन भएको थियो । आज यी दुवैको सम्झनामा कम्युनिस्टहरुले विविध कार्यक्रम मनाउने भएका छन् । कोरोना भाइरस संक्रमणका कारण यस वर्ष भने भर्चुअल विधिबाट विविध कार्यक्रम गरी मदन-आश्रितलाई सम्झना गरिने भएको छ ।

मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । तत्कालीन एमालेको पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेताद्वय चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए ।

चालक लामाको २०६० साउन ११ मा हत्या भएपश्चात् त्यो घटनाको यथार्थ पत्ता लगाउन सकिएको छैन । मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी आज उनीहरुलाई स्मरण गर्दै छन्। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

प्रतिक्रिया