मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

मनाङ । नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ ।
केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो ।
कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्याङ्क लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।
उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको उनले जानकारी दिए । हालसम्म २२ मध्ये १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्य बाँकी पनि फिर्ता पठाउने काम भइरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्रको समन्वयमा ङिस्याङ गाउँपालिकाबाट पाँचजना फिस्टेल एयरबाट काठमाडौँ तथा पाँच जनालाई बलेरो जीपबाट पोखरा पठाइएको हो ।
ङिस्याङ गाउँपालिकाको गाउँमा १४, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङ गाउँमा एकजना गरी जम्मा २२ विदेशी पर्यटक यस जिल्लामा रोकिएका थिए ।
अब जिल्लामा १२ पर्यटक बाँकी रहेका अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए । दुई भारतीय नागारिक, तीन इजरायली तथा अन्य फ्रान्स, नेदरल्यान्ड र ब्रिटिस नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।
हालसम्ममा १० पर्यटकको उद्धार भइसकेको छ भने अन्य १२ जनालाई पनि उद्धार गरी गन्तव्यसम्म पुर्याउने अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।

प्रतिक्रिया