नेपालमा पनि ताउ-ते’ले असर पार्न सक्ने, हिमाल आरोहण एक साता रोक्न विभागको सुझाव

नेपालखोज २०७८ जेठ ३ गते १५:२१

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । अरब सागरदेखि सुरू भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपाल पनि असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न विभागले बुलेटीन जारी गर्दै सुझाव दिएकाे छ ।

मौसम पूर्वानुमान महाशाखा प्रमुख मौसमविद् अर्चना श्रेष्ठ भनिन्, ‘चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने कुरालाई मध्यनजर गर्दै कम्तिमा एक साता आरोहण रोक्न हामीले पर्यटन मन्त्रालयलाई सुझाव दिएका छौँ ।’

पर्यटनमन्त्री भानुभक्त ढकालले विभागको सुझावबारे परिस्थिती हेरेर अघि बढ्ने बताएका छन् । पर्यटन विभागको आरोहण शाखाकी प्रवक्ता मीरा आचार्यले सकभर आरोहण बन्द गर्ने पक्षमा आफूहरु नरहेपनि मौसम विभागको सूचनालाई लिएर छलफल भइरहेको जानकारी दिइन् ।

नेपालमा बुधबारदेखि उक्त चक्रवातको असर देखिन शुरू हुने भएको छ । यो साता घाम नलाग्ने र नेपालमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताइन् ।

नेपालमा चक्रवातको सीधा असर नपर्ने भएपनि आगामी आइतबारदेखि मौसममा सुधार आउने विभागले जनाएको छ ।

प्रतिक्रिया