आइतबार, असार २२, २०८२

कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण आवश्यक छ : मन्त्री अर्याल

नेपालखोज २०७८ जेठ ३ गते १६:१५

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताइन् ।

एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उहाँले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताइन् ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको उनले बताइन ।

उनले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताइन् । उनले कृषि यान्त्रिकीरकणका लािग सरकारले नीति बनाई सकेको र त्यो अनुसार काम अगाडी बढी सकेको बताउँदै सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको बताइन् ।

अब माटो मापन घरबाट नै गर्न सकिने प्रविधिको विकास भएको छ । कृषि मन्त्रालयले माटो मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उहाँले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको उनले बताए ।

कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले यो कुरालाई अगामी वजेट तथा नीति तथा कार्यक्रममा राख्ने प्रतिवद्धता जनाइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा प्राविधिकको व्यवस्था गरिएको छ, त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको उनलेले दिइन् ।

कृषिमा यान्त्रिकीकरण गरेर नै हरेक वस्तुमा आत्मनिर्भर हुने लक्ष्य रहेको छ, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म आत्मनिर्भर हुन नसकिने उनले बताइन् ।

एक पालिका एक नर्सरी नारा लगाएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उनले उच्च स्तरका सिकाइका लागि इजराइलको प्रविधि नेपाल ल्याउने सम्झौता भइसकेको बताइन् ।

यान्त्रिकीकरणको क्षेत्रमा अनुसन्धान गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काम गरिरहेको बताउँदै उनले सानादेखि ठूला खालका अनुसन्धान नार्कबाट भइरहेको बताइन् ।

कृषिमा यान्त्रिकीकरणका लागि नीजि क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउँदै उहाँले नीजि क्षेत्रले प्रसंसनीय कार्य गरेको र कृषि मन्त्रालयले हातोमालो गरेर काम गर्न चाहेको प्रतिवद्धता जनाए ।

महिलामैत्री कृषि औजारमा अनुसन्धान गर्न आवश्यक रहेको छ, अहिले पुरुषभन्दा बढी महिलाहरु कृषिमा आवद्ध छन्, उनीहरुलाई उपयुक्त हुने औजारको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्छ, उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताए ।

अर्कोतिर उत्पादन गरेर मात्र हुँदैन त्यसको वजार व्यवस्थापन पनि जोड दिनुपर्ने र त्यसका लागि कृषि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिनुपर्ने उनले बताए ।

नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै उनले जब कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताए ।

पछिल्लो समयमा कृषि यान्त्रिकरणमा नीजि क्षेत्रमा पनि भूमिका रहेको बताउँदै श्रेष्ठले कृषिमा उत्पादन बढाउँछ र लागत घटाउँछ भने त्यो नै कृषि यान्त्रिकीकरण रहेको बताए ।

कृषिमा सबभन्दा बढी तराई मेधशमा प्रविधि र उपकरण प्रयोग भइरहेको उहाँले बताए । अहिले कृषिमा सबभन्दा बढी साना ठूला ट्याक्टर, धान, गहुँ दाँइ गर्ने मेसिन, धान रोप्ने मेसिन अत्याधिक प्रयोगमा आइरहेको छ ।

माछा पालन, दुध क्षेत्रमा पनि यन्त्रको प्रयोग हुन थालेको छ । कृषिमा यन्त्रको प्रयोग हुन थालेपछि मूल्यको अनुगमन तथा नियमन नरहेको बताउँदै उनले सबै किसानले यन्त्र किन्न सकिदैन, त्यसको लागि सरकारले यन्त्रहरु भाडामा दिनुपर्ने व्यवस्था पनि गर्नुपर्ने बताए ।

अहिले कृषि यन्त्रहरु भाडामा दिइने व्यवसाय पनि सुरु भएको छ त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने उनले सुझाव दिए । महिला मैत्री कृषि यन्त्रको प्रवद्र्धन, स्थानीय कृषि यन्त्र र पाटपूर्जा उत्पादनलाई बढावा दिन सहुलियत दिने नीति, उपयुक्त भूउपयोग नीति, स्थानीय आरनहरुको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने उनले बताए ।

नामियाको अध्यक्ष खोजराज कट्वालले नेपालको कृषि क्षेत्र अझै पनि परम्परागत रुपमा खेती भइरहेको बताए । परम्पारगत खेतीलाई हटाउने कृषिलाई आधुनिकीकरण तथा यान्त्रीकरणमा लैजाने सरकारले नीति लिएको छ तर त्यसमा खासै लगानी नगरेको उनले दावी गरे ।

नेपालमा कृषि औजारको क्षेत्रमा नीजि क्षेत्रले पनि लगानी लगाउन चाहन्छ त्यसमा सरकारले धेरै सहयोग नगरेपनि विजुलीलगायतमा सुविधा दिनुपर्ने उनकाे भनाइ छ ।

कृषिका हरेक क्षेत्रमा प्रविधि तथा उपकारणको आवश्यकता पर्छ सरकारले राम्रो नीति बनायो भने यसमा नेपाल आत्मनिर्भर हुन सक्ने उनले बताए ।

प्रतिक्रिया