अन्तर्राष्ट्रिय सीमा खोल्न अस्ट्रेलिया अनुदार

काठमाडौं । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्ने विषयमा लचकता अपनाउन गरेको आग्रह अस्वीकार गर्दै त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले अझै पनि कोभिड-१९ को महामारीका कारण सीमा खोल्नु सुरक्षित नहुने बताएका छन् ।
‘अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । त्यसैले हामी हतारमा कुनै निर्णय लिन चाहँदैनौं,’ प्रधानमन्त्री मोरिसनले सोमबार संवाददाताहरुसँग भने, ‘खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।’
प्रधानमन्त्री मोरिसनले सबै अस्ट्रेलियालीलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको पनि स्पष्ट गरेका छन् ।
हालै गरिएको जनमत सर्वेक्षणमा अधिकांश व्यक्तिले सीमासम्बन्धी प्रधानमन्त्री मोरिसनको धारणाको समर्थन गरेलगत्तै प्रधानमन्त्री मोरिसनले उक्त अडान सार्वजनिक गरेका हुन् । जनमत सर्वेक्षणमा ७३ प्रतिशत मतदाताले सरकारको सीमासम्बन्धी नीतिको समर्थन गरेका थिए । उनीहरुले आगामी सन् २०२२ को मध्यसम्म अस्ट्रेलियाको सीमा बन्द गर्नुपर्ने अभिमत दिएका थिए । अहिले अस्ट्रेलियाले न्युजिल्यान्डसँगको सीमा मात्र खुला राखेको छ ।

प्रतिक्रिया