जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

नेपालखोज २०७८ जेठ ३ गते १९:१४

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको सिफारिसानुसार लुम्बिनी प्रदेश सभाको सदस्य (सांसद) बाट पदमुक्त गरिएका ४ जनालाई पुनर्वहाली गर्न आदेश दिएको छ।

प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चारै जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार पुनर्वहालीको आदेश जारी गरेको हो। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका ४ जना प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले मन्त्रीको शपथ लिएका थिए।

पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै जसपाको (बाबुराम–उपेन्द्र) पक्षले उनीहरुलाई कारबाही गरेको थियो। जसपाको लुम्बिनी प्रदेश संसदीय दलका तर्फबाट कारबाही गरिएको पत्र दर्ता भएपछि प्रदेश सभा सचिवालयले चारै जना पदमुक्त भएको सूचना निकालेको थियो।

आफूहरुलाई पदमुक्त गर्ने पार्टीको निर्णयविरुद्ध उनीहरुले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया