बिल गेट्समाथि परस्त्रीगमनको आरोप !

काठमाडौं । यही महिनाको प्रारम्भमा अमेरिकी अर्बपति बिल गेट्स तथा उनकी पत्नी मेलिन्डा गेट्सबीच पारपाचुके भएको समाचारले संसारभरका मानिसको ध्यानाकर्षण गरेको थियो भने त्यसले नेपालका सञ्चारमाध्यममा पनि प्राथमिकतासाथ समाचार सम्प्रेषण गरेका थिए ।
अहिले भने बिलको परस्त्रीसँग अवैध सम्बन्ध रहेको समाचार सार्वजनिक भएको छ । सीएनएनका अनुसार बिलको कम्पनी माइक्रोसफ्टकी एक महिला कर्मचारीले बिल र आफूबीच वर्षौंदेखि यौन सम्बन्ध रहेको चिठीमार्फत सन् २०१९ मै उल्लेख गरेकी थिइन् । वाल स्ट्रिट जर्नलका अनुसार सन् २०१९ मा बिलले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुको कारण त्यही सम्बन्ध थियो । यद्यपि यो घटना भने सन् २००० तिरकै हो अर्थात् बीस वर्ष पुरानो ।
उक्त चिठीपछि माइक्रोसफ्टले ती महिलासँग बिलको सम्बन्ध छ कि छैन भनेर वकिलको सहयोगसमेत लिएको बताइन्छ । उक्त घटनाको अनुसन्धानका क्रममा बिलले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुपर्ने आवाजसमेत उठेको थियो । यद्यपि त्यसले बिललाई माइक्रोसफ्टको बोर्ड सदस्यमा पुन: नियुक्त हुन रोक्न सकेन ।
‘अनुसन्धानका क्रममा केही बोर्ड सदस्यले बिल कम्पनीको निर्देशक कायम रहनु उचित हुँदैन भनेर आवाजसमेत उठाएका थिए । त्यसपछि बिलले त्यो अनुसन्धान पूरा हुनुअघि नै माइक्रोसफ्ट कम्पनीबाट राजीनामा दिँदै आफू समाजसेवामा लाग्ने कुरा उल्लेख गरेका थिए,’ वाल स्ट्रिट जर्नलले लेखेको छ ।
भनिन्छ- माइक्रोसफ्टको उक्त अनुसन्धानले ती महिला कर्मचारीसँग उनको सम्बन्धलाई पुष्टि गरेको थियो । बिलको त्यो सम्बन्ध त्यतिबेलै आपसी सहमतिमा टुंगिएको बिलकी प्रवक्ताले बताएकी छन् । उनले भनेकी छन्, ‘बीस वर्षअघिको त्यो सम्बन्ध खुसीसाथ समाप्त भयो । बिलले बोर्डबाट राजीनामा दिने निर्णय यो विषयसँग सम्बन्धित थिएन । उनले धेरै वर्षअघि नै आफूले परोपकारी कार्यमा बढी समय खर्चिने निर्णय गरिसकेका थिए ।’
वाल स्ट्रिट जर्नलले बिल गेट्सले आफ्नो विवाहपछि पनि अन्य महिलाहरुलाई शारीरिक सम्बन्धमा बस्न लोभ्याएको कुरा उल्लेख गरेको छ । जर्नलले लेखेको छ, ‘गेट्सको यस्तो व्यवहारबारे अन्य कर्मचारीहरु पनि जानकार भएको माइक्रोसफ्टका केही पूर्वकर्मचारीहरुले बताएका छन् ।’
यता बिलकी प्रवक्ता भन्छिन्, ‘बिलको सम्बन्धविच्छेदको कारण, परिस्थिति र समयसम्बन्धी यति धेरै असत्य खबर प्रकाशित हुनु दुर्भाग्यपूर्ण छ भने बिलले कर्मचारीहरुसँग दुर्व्यवहार गर्ने कुरा पनि गलत छ । यसलाई बिलको सम्बन्धविच्छेद सँग जोडेर गरिएका अनुमान तथा फैलाइएका अफवाहहरु बेतुक छन् ।’ प्रवक्ताले यही कारणले बिल र मेलिन्डाको सम्बन्ध अन्त्य नभएको स्पष्ट पारेकी छन् ।
यो विषयमा मेलिन्डा जानकार थिइन कि थिइनन् समाचारमा केही बताइएको छैन ।

प्रतिक्रिया