टोखालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

काठमाडौं । काठमाडौंकाे टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।
सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको जानकारी दिए ।
नगरपालिकाका प्रमुख अधिकारीले नगरपालिकालाई प्राप्त भएको उक्त मेसिन सोमबारै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेकाे बताइएकाे छ ।
उक्त मेसिन सहयोगसँगै टोखामा अक्सिजन उत्पादनका लागि थोरै भए पनि सहयोग पुग्ने भएको छ । कोभिड-१९ महामारीलाई ध्यानमा राखेर नगरपालिकाले स्वास्थ्य सामग्री सङ्कलन र अक्सिजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ ।
प्रतिक्रिया