गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड-१९ सङ्क्रमण

पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका-५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो ।
यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो ।
आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड-१९ सङ्क्रमण पुष्टि भयो । आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो ।
सोमबार सोही विवाहमा सहभागी भएका हिलिहाङ–३ डाँढे टोलका सात जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोभिड-१९ पुष्टि भयो ।
हिलिहाङ-३ का स्थानीयवासीसमेत रहेका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भने, “परीक्षण गराएकाहरुमा सङ्क्रमण पुष्टि भयो । घरैपिच्छे बिरामी भए पनि अधिकांशले घरेलु औषधि र सिटामोल, निम्स, साइनेक्सजस्ता स्थानीयस्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् ।”
हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाइ छ । उनीहरु पनि हिलिहाङ–५ को विवाहमा सहभागी भएका कारण त्यहीँबाट सङ्क्रमण भएको स्थानीयवासीको अनुमान छ ।
हिलिहाङ-५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने गाउँभरि ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी भेटिएका छन् ।
“हाम्रो वडाको मालबाँसे, भालुखोपलगायत टोलका ५५ भन्दा बढी घरमा बिरामी छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन”, स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका प्राविधिक ओमप्रकाश पौडेलले भने, “अरु बेलाको जस्तो मौसमी स्वास्थ्य समस्या ठानेर अहिलेसम्म सबैले पचाइरहेका छन् ।
तर परीक्षण गरिएकाहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।” हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे परीक्षण गरिएका अधिकांश स्थानीयवासीमा कोरोनाको सङ्क्रमण देखिएको बताए ।
सोमबार नै हिलिहाङकै वडा नं १ मा पाँचमा सङ्क्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै सङ्क्रमतिको सङ्ख्या ३९ पुगेको घिमिरेको भनाइ छ । गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बिरामीको सङ्ख्या बढ्दै गएको भन्दै जटिल बिरामीलाई तत्कालै उद्धार गर्ने प्रबन्ध मिलाइएको बताए ।
गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजनसहितका १० शय्या तयार पारेको छ । कन्ट्याक्ट टे«ेसिङमा परेका तथा लक्षण देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एन्टिजेन परीक्षण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष लिङदेनले बताए ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विवाह, व्रतबन्धलगायतका भीडभाड हुने कार्यका कारण जिल्लाका गाउँबस्तीमा कोभिड–१९ सङ्क्रमण देखिएको बताए ।
प्रजिअ ढकालले भनेजस्तै फिदिम नगरपालिका–११ नांगीन, याङवरक गाउँपालिका-१ च्याङथापू, फालेलुङ गाउँपालिका–२ एकतीनमा विभिन्न धार्मिक कार्यक्रमका कारण सङ्क्रमण बस्तीसम्म फैलिएको पाइएको छ । यी स्थानमा ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या उल्लेख्य रहे पनि धेरैको परीक्षण नै हुनसकेको छैन ।
प्रतिक्रिया