सरकारले विश्वासको मत लिएर मात्रै नीति तथा कार्यक्रम ल्याउँछ : मन्त्री श्रेष्ठ

नेपालखोज २०७८ जेठ ४ गते १८:४८


काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम ल्याउने बताएका छन् ।

मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोभिड-१९ सँग सम्बन्धित कार्ययोजना र सञ्चालन भइरहेका गतिविधिको स्थलगत निरिक्षण गर्ने क्रममा संक्षिप्त मन्तव्य राख्दै सरकारलाई विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउनुपर्ने दबाब भएको भन्दै सरकारले विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउने सोच बनाएको बताएका हुन् ।

वर्तमान सरकार आटिलो भएको पनि उनले दाबी गरे । उनले भने,‘परिस्थिति अलिकति असहज र तनावपूर्ण स्थिति छ । एक खालको तनावलाई त ल्यान्डिङ गर्याैं । अब अहिले पनि एकखालको नीति र कार्यक्रम भन्दा पहिले विश्वास लेउ भन्नेकुरा आएको छ । हामी पनि यो सरकारले विश्वास लिएर मात्रै नीति, कार्यक्रममा जाने सोच बनाइरहेका छौँ । सरकार आटिलै छ । सरकारले आँट गर्छ ।’

मन्त्री श्रेष्ठले ठुला अस्पतालहरुमा अक्सिजन प्लान्ट नहुनु बिडम्बना भएको बताए । बिगतमा अस्पतालहरुको क्षमता अनुसार अक्सिजन प्लान्टबिना अस्पताल सञ्चालनको स्वीकृति नदिएको भए यस्तो अवस्था नआउने भन्दै उनले अस्पतालहरुलाई अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएको पनि बताए ।

उनले भने, ‘ठुला-ठुला अस्पतालमा अक्सिजन प्लान्ट नहुनु यो भन्दा ठुलो बिडम्बना के हुन्छ ? अहिले आएर भनिरहेका छौँ, हरेक हस्पिटलमा अक्सिजन प्लान्ट बनाईयोस् ।

हिजै हस्पिटलहरुको अनुमति दिदाँखेरी हस्पिटलको क्यापिसिटी अनुसार अक्सिजन प्लान्ट छ, छैन अक्सिजन प्लान्टबिना हस्पिटललाई स्वीकृति नदिनेस्थिति भएको थियो भने प्रत्येक हस्पिटलमा अक्सिजन प्लान्ट हुन्थ्यो ।

अहिले हामिले भन्न थाल्यौँ यति दिन भित्र हस्पिटलमा अक्सिजन प्लान्ट बनाउनुपर्ने खालको निर्देशन गरिरहेको स्थिति छ ।’

मन्त्री श्रेष्ठले नास्टले निर्माण गरेको अक्सिजनलाई टेष्ट गर्ने उपकरणको अनुगमन समेत गरे । उनले महामारीको बेलामा नागरिकको जीवन रक्षाका लागि विज्ञान र प्रविधिको क्षेत्रबाट अनुसन्धान र अन्वेषण गर्न आग्रह पनि गरे ।

यो बेलामा धेरै नियम र कानुन नहेरी जनतालाई जोगाउने र बचाउने सरकारको प्रमुख नीति भएकाले नाष्टलाई अनुसन्धानका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया