सामुद्रिक आँधी ‘ताउ ते’ का कारण सगरमाथा आरोहण प्रभावित

नेपालखोज २०७८ जेठ ४ गते २०:४७

काठमाडौं । सामुद्रिक आँधी ‘ताउ ते’ को कारण मौसम प्रतिकुल रहँदा सगरमाथा आरोहण समेत प्रभावित बनेको छ । दुई सयभन्दा बढी आरोहीहरू भोलि र पर्सि सर्वोच्च शिखर पुग्ने लक्ष्यसहित आधारशिविरबाट उकालो लाग्दै गरेका थिए ।

समुद्री आँधीका कारण मौसममा परिवर्तन हुने भएपछि उनीहरूले अर्को अनुकूल समय पर्खनुपर्ने भएको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । उनले आरोहण दलहरुलाई सतर्कता अपनाउन र सम्भव नभएसम्म उकालो नलाग्न सुझाव दिएकीछन् ।

यस सिजनको सगरमाथा आरोहण बैशाख २४ देखि सूरु भएको थियो । मौसमविद् प्रतिभा तुलाधरका अनुसार अहिले प्रि मनसुन रहेकोमा त्यो माथि आँधी मिसिँदा हिमपात र पहिरोको जोखिम हुने भएकोले पर्वतारोहण नगर्न मौसम विभागले सुचना जारी गरेको थियो ।

आँधीको प्रभाव पश्चिमबाट क्रमैसंग पुर्वतर्फ सर्दै गएको हुँदा शुक्रबारसम्म यसको प्रभाव बढी देखिने मौसम विभागले जनाएको छ । यस अवधिमा उच्च हिमाली भूभागमा उच्च वेगको हावाहुरीको समेत सम्भावना रहेकोले पर्वतारोहण नगर्न तथा नगराउन हुन विभागले भनेको हो । तर यसको जोखिम सगरमाथा रहेको प्रदेश नं १ मा पश्चिमी भेगको तुलनामा कम पर्ने बताइएको छ ।

प्रतिक्रिया