मौसम विज्ञान विभागको अनुरोध- आज र भोलि सतर्क रहनू

नेपालखोज २०७८ जेठ ५ गते १४:५९

काठमाडौं । बुधवार (आज) र भोलि (बिहीवार) देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले विशेष मौसमी बुलेटिन निकालेर भारतमा आएको ‘ताउ–ते’ चक्रवातका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भोलि कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केही ठाउँमा पनि मध्यम तथा ठूलो पानी पर्न सक्ने विभागको अनुमान छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानी तथा नदीहरूमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्न थालिसकेकाले यो समयमा पर्वतारोहण नगर्नरनगराउन पनि आग्रह गरेको छ । केही ठाउँमा बाक्लो हिमपातसमेत हुन सक्ने भएकाले आरोहणमा गएकाहरूलाई सुरक्षित रहन विभागको आग्रह छ ।

यसअघि आज र भोलि सगरमाथा आरोहणका लागि मौसम अनुकूल अर्थात् ‘समिट विन्डो’ देखिएकोले त्यसका लागि झण्डै दुई सय जना आरोही पहिलो तथा दोस्रो शिविरमा पुगिसकेका थिए । उनीहरूलाई त्यहीँ बस्न वा सम्भव भएमा आधार शिविरमा झर्न भनिएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया