राष्ट्रियसभा सदस्य उपनिर्वाचन : हेटौंडामा मतदान सुरु, नतिजा आजै आउने

नेपालखोज २०७८ जेठ ६ गते ९:०१

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत वाग्मती प्रदेशको हेटौँडामा मतदान सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म हुने जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । मतदान लगत्तै मतगणना सुुरु गरिने र आजै नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानुनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया