माओवादी केन्द्रले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने बताएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको छ ।
सो युनिटका सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडामा आगामी पाँच दिनभित्र समिति गठन गर्ने र आवश्यक रूपमा परिचालन गर्ने निर्णय भएको स्थायी समिति सदस्यसमेत रहेका नेता पुनले जानकारी दिए ।
ती समितिले सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्नेछ । यस्तै जनप्रतिनिधि, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यकाबाट सहयोग जुटाएर कोभिड कोष खडा गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।
त्यसबाट औषधी, उपकरण खरिद एवम् सङ्कलन गरी बढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ । यस्तै, कोभिड-१९ रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया