आइतबार, असार २२, २०८२

लकडाउनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५६ चार्टर्ड उडान

नेपालखोज २०७८ जेठ ७ गते ११:५३

काठमाडाैं । नेपालमा कोरोनाभाइरस महामारीको लकडाउनका कारण चार्टर बाहेक अन्य अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी यात्रा गर्ने सबैभन्दा बढी यात्रु भारतका रहेको पाइएको बीबीसीले जनाएकाे छ ।

यो अवधिमा बिहीवार सम्म ५६ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्यसमध्ये अधिकांश उडान स्वास्थ्य सहायता सामग्री भित्र्याउन केन्द्रित भएको बताइएको छ

कतिपय उडानले विभिन्न देशका अनुरोधमा नेपालमा रोकिएका विदेशीहरूलाई उनीहरूको गन्तव्यमा पुग्न सहजीकरण गर्ने उद्देश्य राखेको थियो । सरकारले गएको वैशाख २३ गतेबाट चार्टर बाहेक सबै आन्तरिक र बाह्य उडान रद्द गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीवार सम्म ५६ वटा उडान भएका छन् जसबाट ४ लाख १४ हजार केजी भन्दा बढी विभिन्न किसिमका सामग्रीहरू नेपाल भित्र्याएको छ।

उडान प्रतिबन्ध कार्यान्वयनमा आएको दुई दिनपछिबाट अन्तर्राष्ट्रिय चार्टर उडानहरू हुन थालेका विमानस्थलको आँकडाले देखाउँछ।

अध्यागमन विभागका प्रवक्ता झकनाथ ढकालका अनुसार मे ८ यता बिहीवार अपराह्नसम्म २५ सय ६ जना नेपालबाट बाहिरिएका छन् भने ६ सय २९ जनाले नेपाल प्रवेश गरेका छन्।

उनले दिएको आँकडा अनुसार अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १३ सय १६ जना भारतीयहरू अन्यत्र प्रस्थान गरेका थिए भने नेपाल प्रवेश गर्ने भारतीयहरूको सङ्ख्या १ सय ८५ रहेको छ।

यो अवधिमा नेपालले भारतसँग ‘एअर बबल’ सम्झौता अनुसार साताको दुई वटा उडानलाई अनुमति दिँदै आएको छ । नेपालबाट बाहिरिने भारतीयहरू मध्ये अधिकांश बन्दाबन्दीको कारण काठमाडाैंमा रोकिएका श्रमिकहरू रहेका विवरण आएका छन्।

नेपालमा रहेका भनिएका लगभग धेरै भारतीयहरू गइसकेको र अब थोरै बाँकी हुनसक्ने आफूले बुझेको पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

प्रतिक्रिया