जसपाको ठाकुर-महतो पक्षले भन्यो- नयाँ सरकार गठनको दौडमा लाग्दैनौं

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफुहरु नयाँ सरकार गठनको दौडमा नलाग्ने बताएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफु पक्षिय सांसदहरुको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष महन्थ ठाकुरले आफुहरु विगतदेखि तटस्थ बस्दै आएको र अहिलेको अवस्था पनि त्यही रहेको बताए ।
आफुहरु प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको विरोधमा नरहेको पनि स्पष्ट पारे । उनले भने – ‘हामि त शुरु देखिनै तटस्थ बस्दैँ आएका छौँ । अहिले पनि हाम्रो अवस्था त्यही छ । तर हामि उनको विरोधमा छैनौं । हाम्रो फ्रेन्ड्ली सम्बन्ध सबै पार्टीसँग छ । प्रधानमन्त्री सँग पनि छ । प्रधानमन्त्रीको सरकारप्रति पनि त्यही हो ।’
ठाकुरले संविधान संशोधन गर्नका लागि ५ सदस्यीय कार्यदल बनाईएको र जसपाको तर्फबाट लक्ष्मणला कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको पनि जानकारी गराए । जसपाका वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतोले आफुहरु पद र कुर्सिको लागि नलागेको बताए ।
जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उनले बताए । उनले भने – ‘पदको लागि÷कुर्सिको लागि हामि कहिल्यै पनि जनताको म्याण्डेडलाई कुनै प्रकारको त्यस्तो अवसर पदको लागि प्रयोग गर्ने होइन । माग र मुद्दा, जनताको सवाल, अधिकार, पहिचान, सुशासन र समृद्धि जुन सवालको लागि यो पार्टी गठन भएको छ त्यसमै केन्द्रीत भएर हामि यो शक्तिको प्रयोग गर्छौ ।’
महतोले आफुहरु प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारे । उनले आफुहरुसँगको सहमतिका आधारमा सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको, मधेश आन्दोलनका सन्दर्भमा मुद्दा लागेका १२० जना नेता कार्यकर्तालाई मुद्दा फिर्ता गरिएको र दोस्रो चरणमा पनि बन्दीहरुलाई छुटाउने सम्बन्धमा प्रक्रिया अगाडी बढेको समेत बनाए । आफ्नो माग सम्बोधनका लागि सरकारसँग वार्ता गरिरहेको र त्यसलाई अगाडी बढाउने पनि उनले बताए ।

प्रतिक्रिया