एक महिनामा मानवअधिकार उल्लंघनका घटनामा ९६ जना पीडित

काठमाडौं । इन्सेकले वैशाख महिनामा ५७ महिला र ३९ पुरुष गरी ९६ जना मानवअधिकार उल्लंघन तथा ज्यादती घटनाबाट पीडित भएको जनाएको छ ।
जेठ ७ गते वैशाख महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ वैशाख महिनामा प्रकाशित समाचारअनुसार विभिन्न घटनामा परी ९६ जना पीडित भएका र चारवटा भौतिक संरचनामा क्षति पुर्याएको जनाएको हो ।
‘प्रकाशित समाचार अनुसार वाग्मती प्रदेशमा सबै प्रदेशभन्दा बढी २३ जना पीडित भए भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम चारजना पीडित भए । प्रदेश २ मा २२, गण्डकी प्रदेशमा १३, प्रदेश १ र कर्णालीमा १२/१२ जना, तथा लुम्बिनी प्रदेशमा १० जना पीडित भए । वैशाखमा कारागारमा दुईजनाको मृत्यु भएको छ । यही अवधिमा एकजना शिक्षकको हत्या भएको समाचार पनि प्रकाशित छ,’ विश्लेषणमा उल्लेख छ ।
वैशाखमा प्रकाशित समाचारमध्ये बालअधिकार उल्लंघनका घटनामा परी ४० जना पीडित भएका जनाइएको छ । त्यसैगरी महिलाअधिकार उल्लंघनका घटनामा १२ जना पीडित भए । यो अवधिमा परिवारजनबाट चारजना महिलाको र एकजना महिलाको बलात्कारपछि हत्या भएको विश्लेषणमा उल्लेख छ ।
प्रकाशित समाचारमा दुई पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको, कुटपिट र दुर्व्यवहारका घटनामा चार/चारजना, धम्कीका घटनामा तीनजना, अमानवीय व्यवहारका घटनामा दुईजना तथा झडप र अन्य घटनामा ११ जना घाइते भएको इन्सेकले जनाएको छ ।
‘यो अवधिमा भौतिक संरचना क्षतिका चारवटा घटना पनि प्रकाशमा आए । उपचार अभावमा एक महिला र सात पुरुषको मृत्यु भएका समाचार वैशाखमा प्रकाशन भए । कोभिड–१९ को महामारीबीच अस्पतालहरूमा उपचार अभाव भएका घटनाहरू बढेका हुन्,’ विश्लेषणमा उल्लेख छ ।
वैशाखमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । केही समययता घटेको संक्रमण पुनः बढेको हो । एक महिनाको अवधिमा एक लाख ५८ हजार ९४ जना संक्रमित थपिए । यो अवधिमा परीक्षण चार लाख सात हजार ५ सय ५१ वटा स्वाबको परीक्षण भयो ।
निको हुनेको संख्या ५३ हजार दुई सय ६ रह्यो भने थप एक हजार ६ सय आठजना संक्रमितको मृत्यु भयो । एक महिनाको अवधिमा महिला संक्रमित बढेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया