जसपाको समर्थन ओलीलाई !

काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) काे संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेकाे परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो ।
नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरुले उनलाई समर्थन जनाउने निर्णय गरेको बताए ।
“हाम्रा मुद्दालाई वर्तमान सरकारले सकारात्मक रुपमा लिएको हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेका छौँ”, उनले भने ।
बैठकमा बिहीबार प्रधानमन्त्री ओलीसँगको छलफलबारे अध्यक्ष ठाकुर र नेता महतोले आफ्ना सांसदलाई ब्रिफिङ गरेका थिए । बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।
जसपाको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसहित जसपा सांसदहरुको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबीसहित राष्ट्रपतिलाई निर्धारित समयअघि नै हस्ताक्षर बुझाइ सकेका छन् ।
विपक्षी गठनधनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बहुमतको दावी गर्दै राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका छन् ।

प्रतिक्रिया