आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई जानकारी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केही नेताले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् ।
एमाले नेता माधवकुमार नेपाल पक्षीय भनिएका सांसदको हस्ताक्षर दुरुपयोग भएको राष्ट्रपतिलाई उनीहरूले नै बताएका छन् । यसरी जानकारी गराउने सांसदहरूमा नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडीलगायत छन् ।
सांसद जयकुमार राईले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै आफ्नो हस्ताक्षर दुरुपयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले बुझाएको पत्रमा भनिएको छ, ‘म एमालेको प्रतिनिधिसभा सदस्य हुँ । र मैले मेरो पार्टी अध्यक्षको विरुद्धमा विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु । ‘
यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हस्ताक्षर दुरूपयो भएको बताएका थिए ।


प्रतिक्रिया