प्रधानमन्त्री ओली भन्छन्- नेपाल पक्षधर प्रतिक्रियावादी शक्तिको मतियार (भिडियोसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिस्ट आन्दोलनको विरुद्धमा लागेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्व. बुद्धिबहादुर रायमाझीद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिँजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरुको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिस्ट आन्दोलनका विरुद्धमा लागेको बताएका हुन् ।
उनले कम्युनिस्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताए ।
उनले भने, ‘आज पनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षीसँग मिलेर, विरोधीहरुसँग मिलेर, नेपालमा छरिएको, नेपालभरी फिजिँएको उज्यालोलाई निभाउने देशी, विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरु जुन छन्, तिनीहरुको मतियार भएर, तिनीहरुको सेवक भएर निर्लज्जतापूर्वक अहिले पनि आन्दोलनका विरुद्धमा लाग्ने तत्त्वहरु देखिएका छन् ।’
प्रधानमन्त्री ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिकाबीच उचाइमा पुर्याइएकाे कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप पनि लगाए ।
अदालतको फैसलाअगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको उनले बताए । नेता पतित भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत्त हुनेपनि उनको भनाइ छ ।
उनले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाए । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत १५ वर्षदेखि मानिसहरुलाई गम्भिर प्रकारका आरोपहरु लगाइरहेको पनि बताए ।
प्रचण्डले असभ्यताको र संस्कारहिनताको पराकाष्ठा देखाएको उनको आरोप छ । प्रधानमन्त्री ओलीले नेपाली समाजलाई संस्कारयुक्त समाज बनाउनुपर्नेमा जोड दिए । पुस्तकको विमोचन गर्दै उनले आफ्नो जेलजिवनको स्मरणसमेत गरेका थिए ।

प्रतिक्रिया