संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हाल्दै विपक्षी गठबन्धन

नेपालखोज २०७८ जेठ ९ गते ९:०९

काठमाडौं । विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले नेता माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको हिजो बसेको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।

सोहि निर्णयअनुसार आज यी दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । माओवादी केन्द्रका एक नेताले कानुनी उपचारका लागि आज सर्वोच्च अदालत जाने तयारी भइरहेको नेपालखोजलाई जानकारी दिएका छन् ।

१५३ सांसदको समर्थन रहेको भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका १४९ सांसदहरुको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दुवैजनाको दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

त्यसैको विरोधमा विपक्षी दलहरुले सर्वोच्च अदालतमा जाने र सडक संघर्ष गर्ने उनीहरुको योजना छ ।

प्रतिक्रिया