कोरोना संक्रमणबाट ज्यान गुमाउने चिकित्सकका परिवारलाई एक करोड क्षतिपूर्ति दिइने

दिल्ली । भारतको दिल्ली सरकारले बिरामीको उपचार गर्दै गर्दा कोरोना सङ्क्रमित भएर ज्यान गुमाउने डाक्टरको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
आइतवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले यस्तो घोषणा गरेका हुन् । मुख्यमन्त्री केजरीवालले लकडाउनले दिल्लीलाई फाइदा पुगेको पनि बताएका छन् । यही कारण राजधानीमा पोजेटिभ दर ३६ प्रतिशतबाट घटेर दुई दशमलव पाँच प्रतिशतमा घटेको उनको भनाइ छ ।
त्यस्तै, दिल्लीमा एक हप्ताका लागि लकडाउन बढाइएको छ । अब राजधानी दिल्लीमा लकडाउन बढाएर मे ३१ बिहान ५ बजेसम्म लागू गरिएको छ ।
यसैबीच मुख्यमन्त्री केजरीवालले भ्याक्सिनको कमी भएको तर भ्याक्सिनको समस्या सबैजना मिलेर समाधान गर्ने आश्वासन दिएका छन् ।
साथै उनले अहिले पनि दैनिक एक हजारभन्दा बढी कोरोना संक्रमितहरु भेटिने गरेकोले यसविरुद्ध युद्ध अझै बाँकी रहेको बताए ।

प्रतिक्रिया