प्रधानमन्त्री भन्छन्- राष्ट्रपतिको स्वविवेकीय अधिकारविरुद्ध प्रश्‍न गर्न पाइन्छ र ? (भिडियोसहित)

नेपालखोज २०७८ जेठ ९ गते १५:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि भइरहेको प्रहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर पनि गरे ।

आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको दाबी गरे ।

राष्ट्रपतिको अधिकारविरुद्ध प्रश्‍न गर्न नपाइने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया