‘राजतन्त्रको अन्त्य चाहन्छ ब्रिटेनको युवापुस्ता’

नेपालखोज २०७८ जेठ ९ गते २१:०१

काठमाडौं । ब्रिटेनमा गरिएको एक ताजा मत सर्वेक्षणअनुसार त्यहाँका युवाहरु अब राजपरम्परालाई निरन्तरता दिने पक्षमा नरहेको देखाएको छ ।

सर्वेक्षणअनुसार बेलायती युवाहरु राजतन्त्रको अन्त्यसँगै निर्वाचित राष्ट्र प्रमुख चाहन्छन् । संजोगको कुरा यो सर्वेक्षण नतिजा नेपालमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मात्र आएको छैन, यति बेला राजतन्त्र फ्याँकेर आएको गणतन्त्रको दोस्रो राष्ट्र प्रमुख सर्वाधिक आलोचनाको केन्द्रसमेत भएकी छन् ।

उक्त सर्वेक्षण नतिजाअनुसार १८ देखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत बेलायती राजतन्त्रको अन्त्यको पक्षमा छन् । जबकि ३१ प्रतिशत युवा राजतन्त्रको अन्त्य चाहँदैनन् । भनिन्छ दुई वर्षअघि यही मुद्दामा स्थिति अर्कै थियो । त्यतिबेला ४६ प्रतिशत युवा राजसंस्थाको पक्षमा देखिएका थिए भने २६ प्रतिशत युवा यथास्थितिमा परिवर्तन चाहन्थे ।

बेलायती राजपरिवारमा देखिँदै आएको उतार-चढावबीच सार्वजनिक यो मत सर्वेक्षण त्यहाँकी महारानीका लागि चिन्ताको विषय हुन सक्ने स्थानीय सञ्‍चारमाध्यमहरुको राय छ ।

यद्यपि सर्वेक्षणले राजदरबार परित्याग गरेका बेलायती राजपरिवारका युवा दम्पती ह्यारी र मेगनको जोडीलाई भने निकै लोकप्रिय साबित गरेको छ । चार हजार आठ सय ७० मनिसबीचको उक्त सर्वेक्षणमा सहभागी २५ देखि ४९ आयु वर्गका ५३ प्रतिशत मानिस भने राजतन्त्रको निरन्तरताको पक्षधर देखिए ।

राजपरम्पराको दह्रो पक्षधर भने ६५ वर्षभन्दा माथिको उमेर समूह देखापर्‍यो । उक्त उमेर समूहका ८१ प्रतिशत मानिसले बेलायतमा राजतन्त्रको पूर्ण समर्थन गरेका छन् जसले उक्त उमेर समूहमा बेलायती राजसंस्थाको लोकप्रियतालाई पुष्टि गर्छ । यो उमेर समूहका मानिसले बेलायतमा राजपरम्परालाई भविष्यसम्म पनि निरन्तरता दिइरहनुपर्ने पक्षमा बलियो अभिमत प्रकट गरेको छ ।

प्रतिक्रिया