कोरोनाको जाँचमा टेस्ट किटको तुलनामा कुकुर बढी प्रभावकारी

फ्रान्स । फ्रान्सको राष्ट्रिय पशु विद्यालय तथा पेरिस स्थित कोचिन हस्पिटलले यहि मार्च र अप्रिलको बीचमा गरेको संयुक्त परीक्षण अनुसार कोरोनाको जाँचमा टेष्ट किटको तुलनामा कुकुर बढि प्रभावकारी देखिएकोछ ।
अनुसन्धानकर्ताहरुले कोरोना भाईरसको जाँचमा कुकुरलाई एयरपोर्ट, बजार, जुलुस आदि जस्ता मानिसको भिडभाड रहने ठाउँमा प्रयोग गर्न सकिने कुरा बताएका छन् । व्यापक स्तरमा भाइरस स्क्रिनिङ गर्न त्यस्ता ठाउँमा कुकुर परिचालन गर्नु बढि उपयोगी हुने उनिहरुको सुझाव छ ।
कुकुरले सुघेर गर्ने कोरोना भाइरस टेस्ट सामान्यतया ७२ प्रतिशत सहि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । यसैगरि लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितहरुको जाँचमा यो विधि ५८ प्रतिशत सफल भएको दाबि गरिएको छ ।
पेरिस अस्पतालका अनुसार कोभिड-१९ को भाइरसलाई सुघेर पत्ता लगाउने कुकुरको क्षमतालाई यो अनुसन्धानले पुष्टि गरेकोछ । अनुसन्धानमा संलग्न विज्ञहरुले यसलाई पिसिआर जाँच भन्दा प्रभावकारी बताएका छन् । यद्यपि अहिले नै कुकुरलाई पिसिआर टेष्टको विकल्पका रुपमा प्रयोग भने गर्न सकिने छैन् । तर यो विधिलाई कोरोना जाँचका अन्य सामान्य विधिको तुलनामा बढी प्रभावकारी मानिएको छ ।
विशेषज्ञहरुका अनुसार कुकुरले एयरपोर्ट, रेल तथा बस स्टेशनका साथै म्यूजिकल कार्यक्रम आदिमा गर्नुपर्ने ठुलो स्तरको जाँचलाई सरल तुल्याउने छन्। भनिन्छ अनुसन्धानका क्रममा कुकुरले १०९ कोराना पोजेटिभमध्ये ९७ जनाको पहिचान गरेको थियो ।
त्यस्तै, कुकुरले ९१ प्रतिशत कोरोना नेगेटिभहरुको पहिचान पनि सफलतापूर्वक गरेको बताईन्छ । यसअघि अस्ट्रेलिया, जर्मनी तथा बेलायतका वैज्ञानिकहरुले पनि कोभिडको जाँचमा कुकुरको प्रयोग सम्बन्धि केही अनुसन्धान गरेका थिए भने फिनल्यान्ड र संयुक्त अरब ईमिरेटसको एयरपोर्टमा कुकुरलाई कोरोना जाँचका लागि परीक्षणमा खटाइएको थियो ।

प्रतिक्रिया