राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र विक्रीको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुुसार यही जेठ ११ गते अर्थात भोलि (मंगलबार) पाँच बर्षे अवधिको विकास ऋणपत्र २०८३ “घ” विक्री गर्न लागिएको हो हो ।
ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यही जेठ ११ गते दिउँसो तीन बजेसम्म आवेदन दिनु पर्ने छ । राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०७८ जेठ १३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८३ जेठ १३ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाईनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । विक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । राष्ट्र बैंकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले दिएको छ । खरीद गर्न पाउने सीमा निम्नतम पचास हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।
राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् ।
प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुनेछ ।


प्रतिक्रिया