सेयर कारोबार रकममा नयाँँ रेकर्ड, एकैदिन १३ अर्ब १७ करोडको सेयर किनबेच

नेपालखोज २०७८ जेठ १० गते १५:४६

काठमाडौं । नेप्से सामान्य अंकले बढे पनि साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेले सेयर कारोबार रकममा नयाँँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिन ३२ दशमलव ८१ अंकले बढेको नेप्से आज तीन दशमलव सात अंकले बढेर २८ सय २३ दशमलव ६ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ अंकले बढेर पाँच सय आठ दशमलव ४९ अंकमा पुगेको छ ।

दुई सय १६ वटा कम्पनीको एक लाख ३६ हजार चार सय ९९ पटकको कारोबारमा दुई करोड ७१ लाख ४० हजार दुई सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार एक सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा पाँचवटा समूहको सूचक बढेका छन् भने आठ वटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव आठ अंकले बढेर १८ सय ८९ दशमलव नौ अंकमा पुग्दा निर्जिवन बिमा समूहको सूचक एक सय ९६ दशमलव ६४ अंंकले बढेर १४ हजार तीन सय ६६ दशमलव १७ अंकमा पुगेको छ ।

यसैगरी जलविद्युत्, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् । जीवनबिमा समूहको सूचक भने आज ५५ दशमलव ६१ अंकले घटेर १८ हजार एक सय ४० दशमलव ६८ अंकमा झरेकोमा विकास बैंक, फाइनान्स, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक र अन्य समूहहरुको सूचक पनि घटेका छन् ।

आज वरुण हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९५ प्रतिशतले बढेर चार सय ४२ रुपैयाँमा कारोबार हुँदा एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ६२ प्रतिशतले घटेर ६ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको प्रतिकित्ता पाँच सय ८९ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब २४ करोड ७० लाख ५३ हजार पाँच सय ५३ रुपैयाँको सेयर कारोबार भएको छ । आज भएका कुल कम्पनीहरुमध्येमा सबैभन्दा बढी कारोबार नै उक्त कम्पनीको भएको हो ।

प्रतिक्रिया