गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने प्रहरीको नियन्त्रणमा

रासस २०७८ जेठ ११ गते ८:५३

काठमाडौं । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार्थ मिथानोल धेरै राखेर बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

प्रहरीले भट्टराईको साथबाट तीन हजार ८१ लिटर स्यानिटाइजर बरामदसमेत गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखा प्रमुख खापुङले बताए ।

रासस

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया