सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा गरिएको होइन : प्रजिअ पराजुली

काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको बताएका छन् । उनले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको स्पष्ट पारे । साथै उनले प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको बताए ।
साथै उनले काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन भएको बताएका छन् । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यक बाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको बताएका हुन् ।
उनले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाई गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाईने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाएको उनले बताए ।
उनले भने– ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौ ।’
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उनले बताए । सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् विक्री वितरणको व्यवस्था मिलाउने उनले उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकन समेत गरेका थिए ।
काठमाडौं जिल्लामा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रीपरिषद्को निर्णय अनुसार विभिन्न ठाउँमा आइसोलेसन सेन्टर व्यवस्थापन गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया