मंगलबार, वैशाख १६, २०८२

काठमाडाैं प्रमुख जिल्ला अधिकारी भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिदैनाैं

नेपालखोज २०७८ जेठ १३ गते १५:२१


काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पुर्ण पालना गर्न सबैलाई अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाडाैं उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपुर्ति सहज पारिने जनाएको हो ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुसँग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्दैशन दिएको हो ।

प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरि व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको छ ।

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामाग्रीको सहज आपुर्तिको व्यवस्था मिलाउनका मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरि व्यवस्था मिलाईएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरि कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडको तर्फबाट अनलाईनका माध्यमबाट यथाशिघ्र खाद्य सामाग्री मागको विवरण संकलन गर्ने र सोही बमोजिम गाडीबाट आपुर्तिको स्थलगत व्यवस्थापन मिलाउन निर्देशन गरिएको छ ।

त्यसैगरी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले अनलाइन गाडी मार्फत रुटहरु एकिन गरि स्थानीय स्तरमा स्थानीय तहको समन्वय गरि स्थलगत रुपमा नै खाद्य बस्तुहरु उपलब्ध गराउने बताएकाे छ ।

कसैलाई खाद्यान्न अभाव भएमा हामीले सार्वजनिक गरेका नम्बरमा फोन सम्पर्क गरी खरिद गर्ने व्यवस्था मिलाउने र त्यसको व्यववस्थापन गर्नका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रसाल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले सार्वजनिक सूचना जारी गर्ने, खाद्यान्न आपुर्ति व्यवस्थामा आवश्यक पर्ने गाडी , चालक र कर्मचारीको निर्वाध आवागमनको लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने छ ।

मोबाईलबाट खाद्य आपुर्ति गर्ने सम्बन्धमा तोकिएको स्थान र रुटका विषयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपूर्ति एवं सार्वजनिक सुचना जारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

खाद्य आपुर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाउन नियमित समिक्षा गर्ने र केही समस्या आए तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए । उनले आपत विपतमा परेका र अत्यन्तै विपन्न नागरिकहरुलाई खाद्यान्न अभाव भएमा आवश्यक खाद्यान्न वितरणको व्यवस्था मिलाउन सम्बन्धीत सबै स्थानीय तहलाई अनुरोध गरिने बताए ।

साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमारराज राजभण्डारीले उपभोक्ताहरुलाई अत्यावश्य दैनीक उपभोग्य सामाग्रीको अभाव हुन नदिने गरि मोबाईल भ्यान परिचालन गरिने र आवश्यकता र माग भए बमोजिम टोल टोलमा परिचालन गरिने बताए ।

खाद्य व्यवस्था व्यापार कम्पनीका विभागिय प्रमुख प्रेम थापाले प्रशस्त खाद्यान्न मौज्दात रहेको र अनलाईन डेलिभरी दिन सक्ने स्थितिमा आफुहरु रहेको भन्दै काठमाडाैं उपत्यकाका टोलटोलमा खाद्य सामाग्री पठाउन सक्ने व्यवस्थापकिय तयारी गरिएकाले ढुक्क हुन सबैलाई आग्रह गरे ।

छलफलमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका प्रेमलाल महर्जनले कोभिड १९ संक्रमणको दोश्रो लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेसंगै खाद्य बस्तुको सहज उपलब्ध गराउने व्यवस्था मिलाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय अत्यन्तै सकारात्मक भएको बताए ।

अघिल्लो बर्षको बन्दाबन्दी बिना पूर्वतयारी गरिएकाले समस्या भएको भन्दै अहिले भने सर्वसाधरणको माग अनुसार स्थानीयस्तरमा नै खाद्यान्न उपलब्ध गराउने विषय सकारात्मक रहेको भन्दै कुनै पनि किसिमले यस निर्णयलाई राजनीतिकरण गर्न नहुने तर्क गरे ।

जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाई गरिएको छ । अत्यावश्यक सेवा बाहेक किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्ट स्टोरहरु पनि २० गतेसम्म खोल्न पाइने छैन ।

प्रतिक्रिया