कानुनविद्सँगको छलफल सकियो, सभामुखको क्षेत्राधिकारबारे मिश्रित प्रतिक्रिया

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सबैसँग परामर्श गरेपछि मात्रै आवश्यक कदम चाल्ने बताएका छन् । यसअघि पूर्वसभामुखहरुसँग छलफल गरेका सभामुख सापकोटाले आज संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श लिएपछि यस्तो बताएका हुन् ।
अब राजनीतिक दलहरु, पत्रकार, नागरिक समाजलगायतसँग पनि छलफल गर्ने योजना रहेको पनि उनले सुनाए । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज दिउँसो १ बजेदेखि सुरु भएको छलफल करिब ढाइ घण्टा चलेको थियो ।

त्यसक्रममा कानूनका जानकारहरुले सभामुखको क्षेत्राधिकारबारे मिश्रित प्रतिक्रिया दिएका छन् । संविधानविद् तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तत्कालै सभामुख अग्नि सापकोटाले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने तर्क गरेका छन् ।अर्का संविधानविद् डा. भिमार्जुन आचार्यले सर्वोच्चले आदेश नदिएसम्म सभामूखले थप कानूनी रुपमा कदम चाल्न सक्ने आधार नदेखिएको बताएका छन् ।

संसद विघटन हुदैछ भन्ने थाहा हुँदा हुदै प्रतिनिधिसभा बोलाउन माग गर्ने कि प्रधानमन्त्री दाबी गर्न जाने भन्नेमा विपक्षी दल चुकेको टिप्पणी गरे । वरिष्ठ अधिवक्ता शम्भु थापाले भने प्रधानमन्त्री र राष्ट्रपतिबाट अलोकतान्त्रिक काम भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया