आयुर्वेद औषधिसहित संक्रमितको घरमै पुग्छन् जनप्रतिनिधि

रासस २०७८ जेठ १४ गते १०:५२

स्याङ्जा । कोरोना सङ्क्रमणको दोस्रो भेरियन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर संक्रमितको घरघरमा पुग्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेका हुन् ।

आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल गाउँपालिकामै आयुर्वेदसम्बन्धी औषधि उत्पादन गरेर सोही औषधि र स्वास्थ्यकर्मीको टोली लिएर संक्रमितको घरदैलोमा पुगे । पालिकाले आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीसहितको टोलीसँगै सङ्क्रमितको घररमा पुगेर औषधि वितरण गरेको हो । कोरोना सङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि सङ्क्रमित बिरामीको घरमै पुगेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष पौडेलले भने, “गाउँघरमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्क परामर्श दिँदै आएका छौँ ।”

गाउँपालिकाका विभिन्न वडामा कोरोना सङ्क्रमित देखिएपछि होमआइसोलेशनमा बसेका पञ्चमुल, चिलाउनेबास, सेतीदोभान र फापरथुमका सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । सङ्क्रमितको घरमै पुगेर भेट गरी स्वास्थ्यमा जटिल समस्या आउने अवस्था आए तुरुन्तै गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क, स्यानिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिनयुक्त औषधि वितरण गर्दा बिरामीमा रोगलाई जित्ने आत्मबल बढ्ने अध्यक्ष पौडेलको भनाइ थियो ।

कोरोना सङ्क्रमणबाट त्रसित बनेका सङ्क्रमित आफ्नै घरआँगनमा औषधिसहित स्वास्थ्यकर्मी टोली लिएर जनप्रतिनिधि आइपुग्दा खुशी लागेको बताउँछन् । स्थानीय तहका प्रमुखलगायत टोलीले सङ्क्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवं सुझाव दिँदा सङ्क्रमितले राहत महसुस गरेका छन् ।

रासस

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया