स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति शीर्ष नेताको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

नेपालखोज २०७८ जेठ १४ गते ११:३९

काठमाडौं । प्रमुख विपक्षी दलका शिर्ष नेताहरुले बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि भएको आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै कारवाहीको माग गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका हुन् ।

आज विहान देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउँदै घटनाको छानविन गरी कारबाही गर्न माग गरेका छन् ।’यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्, स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछ,’ देउवाले लेखेका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पनि चिकित्सक र नर्सहरूमाथि साङ्घातिक हमला गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । उनले डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनाप्रति खेद प्रकट गरेका छन् । ‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै साङ्घातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनि माग पनि गर्दछ ।’

माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गरेका छन् । यस घटनामा गम्भीर बन्न उनले सरकारलाई आग्रह गरेका छन् । महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध भएको उनको भनाइ छ ।

उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको शर्माले बताए ।उनले लेखेका छन्, ’दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।’ सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय भएको शर्माले बताए । ’म स्वास्थ्यकर्मीको साथमा छु,’ उनले भनेका छन् ।

काँग्रेस नेता बालकृष्ण खाणले पनि डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् ।

विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको थियो । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।

प्रतिक्रिया