खोप उत्पादक राष्ट्रहरुलाई खोप उपलब्ध गराउन प्रधानमन्त्री ओलीकाे आग्रह

नेपालखोज २०७८ जेठ १४ गते १५:०७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्र्तरक्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड-१९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गरेका हुन् ।

अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्ट्रहरुलाई आग्रह गरे ।

झन्डै दुई करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरे ।

उनले कोभिड नियन्त्रणका लागि नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैंकका क्षेत्रिय निर्देशक लगायत विभिन्न दुतावासहरुको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिए ।

भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरुको सहयोगका कारण खोप सुरु गरेपनि पछि विभिन्न कारणहरुले खोप उत्पादक कम्पनि र देशहरुले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तिब्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताए ।

उनले सरकारको विरोध गर्नेहरुले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने निर्णयलाई असंबैधानिक भयो भनेर विरोध गरिरहेको उल्लेख गरे ।

सरकारका विरोधीहरुले सरकारका अन्य कतिपय कुराहरुलाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने काम भएको र सरकारले जारी गरेका अध्यादेशहरुको सम्बन्धमा पनि विरोध भइरहेकोबारे आफू जानकार रहेको बताए ।

उनले विपक्षीहरुले कोभिड १९ को दोश्रो लहरलाई राजनीतिक अभिष्ट पुरा गर्ने माध्यम बनाएको दाबी गरे ।

प्रतिक्रिया