‘सरकारले ल्याएको बजेटले निजी क्षेत्रका अधिकांश माग सम्बोधन’

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटले वर्तमान परिस्थिति अनुकुल नीजि क्षेत्रको अधिकांश मागहरु सम्बोधन भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
बजेट भाषणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ उद्योगी व्यवसायीले कोभिड महामारीको बेलामा आएको विशेष बजेट भएका कारण नीजि क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भएपनि अधिकांश मागहरु सम्बोधन भएको बताएका हुन् । नीजि क्षेत्रले आर्थिक वर्ष २०७८/०७९ को बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताए । कोभिड १९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अन्य केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको प्रति उनले खुशी व्यक्त गरे । स्वास्थय क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको उनले बताए ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफुहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताए । यसले नेपालमा औद्योगिकिकरण बढाउने र रोजगारीको सिर्जना गर्ने उनको भनाई छ ।
कोभिड विरुद्ध लड्न बजेट विनियोजन हुनु सुखद भएको उनले बताए । खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको उनले उल्लेख गरे । लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफुहरुको माग सम्बोधन भएको उनले बताए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट यथार्थपरक नभएको उनको टिप्पणी छ । वर्तमान सरकार स्थिर नभएको अवस्थामा बजेट कार्यान्वयनको सन्दर्भमा शंका रहेको उनले बताए । सरकारले अपेक्षा गरे अनुरुपको राजस्व असुली गर्न पनि कठिन रहेको उनले बताए ।
प्रतिक्रिया