काेराेनाले पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु

पाँचथर । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको हिजो दिउँसो मृत्यु भएको हो ।
श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो । उनको पार्थिव शरीरलाई गए राति नै फिदिम–४ माझीटारस्थित हेवाघाटमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले हिजो बेलुकी शोक वक्तव्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि फिदिममा रहेर भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील थिए । नेपाल ट्रेड युनियन कांग्रेस पाँचथरका उपाध्यक्षसमेत रहेका भण्डारी फिदिमस्थित कञ्चनजङ्घा एकेडेमी माध्यमिक विद्यालयमा प्राध्यापनरत थिए । भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया