मंगलबार, असार २४, २०८२

आव २०७८/०७९ को बजेट बारे निजी क्षेत्रको प्रतिक्रिया

नेपालखोज २०७८ जेठ १६ गते १५:५२


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आ.व. २०७८÷०७९को बजेटले नीजि क्षेत्रको अधिकांश सुझावलाई समेटेको बताएका छ ।

वरिष्ठ उपाध्यक्ष ढकालले बजेटले नीजि क्षेत्रको सुझावहरुलाई समेटेको भन्दै कार्यान्वयन हुनसके यो बजेटलाई नीजि क्षेत्रले सकारात्मक रुपमा लिने बताए ।

अघिल्लो वर्षमा केही कमी कमजोरीहरु देखिएको भन्दै उनले बजेटमा उल्लेख भएका कुराहरुलाई मौद्रिक नीतिमा पनि समावेश गरेर कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

साना तथा मझौला उद्योग, पर्यटनको क्षेत्रमा पनि बजेट सकारात्मक रहेको उनको भनाई छ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले बजेट कार्यान्वयन हुन सकेमा यस बजेटमा कुनै कैफियत नदेखेको प्रतिक्रिया दिए ।

राजनीतिक अस्थिरताका कारण राजनीतिक नेतृत्व अल्मल्लिएको अवस्था भएका कारण बजेट कार्यान्वयनमा भने चुनौती रहेको उनले बताए । बजेटले सबै कुरा समेटेको उल्लेख गर्दै उनले आफूहरुको अधिकांश माग सम्बोधन भएको बताए ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) का अध्यक्ष खुम सुवेदीले पर्यटन व्यवसायसँग सम्बन्धित साना तथा मझौला व्यवसायीले तत्कालै ऋणको व्यवस्था खोजेको भएपनि बजेट मार्फत् सम्बोधन हुन नसकेको बताए ।

यद्यपी, भ्याट छुट र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने कुरा समेटिनु सकारात्मक भएको उनको टिप्पणी छ । आफूहरु बजेट कार्यान्वयनको पखाइमा रहेको उनले बताए ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष कृष्ण आचार्यले जलविद्युतको लागि बजेटमा कुनै आकर्षक योजना नआएको बताउनुभयो । विद्युत खपत कति बढाउने भन्दापनि विद्युत अब चाहिँदैन भन्ने सरकाले सोच राखेको उनको भनाई छ ।

आफूहरुको माग अनुसार भ्याट फिर्ताको कुरा सम्बोधन नभएको बताए । सर्बे लाइसेन्स नविकरण गर्न लाग्ने महशुल छुट दिने र समस्याग्रस्त आयोजनालाई सम्बोधन गर्ने कुरा बजेटले गर्न नसकेको पनि उनले बताए ।

आव २०७८/०७९ को बजेटले विद्युत व्यापारमा विद्युत प्राधिकरणको एकाधिकारलाई तोडेर नीजि क्षेत्रलाई पनि बाटो खुला गरिनुलाई सकारात्मक रुपमा लिनुपर्ने उनले उल्लेख गरे ।

कम्युटर एशोसिएसन नेपालका अध्यक्ष नवराज कुँवरले बजेटले सुचना प्रविधिको विकासको निम्ति ठोस विषय नल्याएको प्रतिक्रिया दिए । सुचना प्रविधि क्षेत्रका व्यवसायी निराश बनेको उहाँले बताए ।

इन्टरनेटको महशुल घटाउनुपर्ने, अप्टिकल फाइबर ल्याउँदा राजस्व घटाउनुपर्ने, सात प्रदेशमा आइटी पार्कको अवधारणा, नेपालमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिने र सुचना प्रविधिका सामग्रीहरुका भन्सार रेटमा परिवर्तन गर्ने लगायतका कुराहरु बजेटमा नपर्नु दुखद भएको उनको टिप्पणी छ ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले अघिल्लै वर्षको बजेटलाई निरन्तरता दिईएको बताउनुभयो । आफुहरुले कोभिड अवधिभरको कर छुट र बैंकको व्याज छुट हुनुपर्ने माग राखिएको भएपनि सम्बोधन नभएको उनले बताए ।

कतिपय कुराहरु समावेश भएको भएपनि कार्यान्वयन प्रक्रिया निकै नै जटिल हुने गरेका कारण लाभान्वित हुन कठिन हुने गरेको पनि उनले बताए ।

आफूहरुले उठाएको महिला कर्जाको कुरा बजेटले नसमेटेको उनले बताए । समग्रमा साना तथा घरेलु उद्योगी व्यवसायीका लागि बजेट सन्तोषजनक नै रहेको कार्यबाहक अध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया