चीनले अनुदानमा दिने कोरोनाविरुद्धको ८ लाख डोज खोप मङ्गलवार आइपुग्ने

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १० लाख डोज खोपमध्ये सबै खोप मङ्गलवार नआउने भएको छ । १० लाख डोज खोपमध्ये मङ्गलवार (भोलि) आठ लाख डोज खोप मात्रै नेपाल आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।
खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । आज राति साढे ११ बजे बेइजिङका लागि उड्ने जहाज भोलि दिउँसो साढे २ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।
नेपाल वायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपु जहार्चनले आठ लाख डोज खोप ल्याउन जहाज बेइजिङ जाने बताए ।
चीनले दिने १० लाख डोज खोपमध्ये बाँकी दुई लाख हिमालय एयरलाइन्समार्फत ल्याउने तयारी छ । यसअघि सरकारले १० लाख डोज खोप एकै खेपमा ल्याउने जानकारी दिएको थियो ।
नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको आठ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदानबाहेक भेरोसेल खोप खरिदका लागि पनि कुटनीतिक पहल गरिरहेको छ ।

प्रतिक्रिया