राष्ट्रिय विपत् जोखिम न्यूनीकरणले भन्यो- यस वर्ष विपत्को घटना कहाली लाग्दो हुन सक्छ

नेपालखोज २०७८ जेठ १७ गते १७:१०

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुन सक्ने बताएको छ । सोमबार संचारकर्मीसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा यस वष धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग व्याधिले धेरैलाई असर गर्न सक्ने बताएका छन् ।

उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुन सक्ने पोखरेलले बताए ।

उनले भने – ‘पोहोरभन्दा यसपाली झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुपर्‍यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौँ ।’

डा. पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंशलगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत्बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।

उनले भने – ‘हरेक व्यक्ति, समुदायको आ-आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका वस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय शुरु गर्नुपर्छ । सर-सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी शुरु गरौँ ।’ उनले विपत्बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।

प्रतिक्रिया