‘उज्ज्वलकाे मृत्युले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति’

काठमाडाैं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएकाे छ । उनकाे निधनप्रति पार्टीले दुःख व्यक्त गर्दै शाेक वक्तव्य जारी गरेकाे छ । वक्तव्यमा नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको जनाइएकाे छ ।
वक्तव्यकाे पूर्णपाठ
विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो ।
विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ ।
साथै, यहीबीचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ । नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।
खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ ।
थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ ।
यो विषम पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ।
रवीन्द्र मिश्र, अध्यक्ष
मिलन पाण्डे, संयोजक
विवेकशील साझा पार्टी
मिति: १८ जेठ २०७८

प्रतिक्रिया